भाद्र १३, २०८० बुधबार
कावासोती- नवलपुरको देवचुली नगरपालिका–१५ की टिका रानाभाट सम्पर्कविहीन भएको २५ वर्ष बढी भयो । २०५५ सालमा बिहान साथीकहाँ हिँडेकी १७ वर्षीया रानाभाट त्यसपछि सम्पर्कमा आउनु भएको छैन । उहाँको अहिलेसम्म अत्तोपत्तो नहुँदा आफन्त चिन्तित छन् । उहाँ सँगैका साथीहरू गाउँघरमा देख्दा अभिभावकका आँखा रसाउँछन् । परिवारका सदस्य अझै पनि छोरी आउने आशामा बाटो हेरिरहेका छन् । ‘छोरी एकाएक सम्पर्कविहीन भइन् । घरमा त्यस्तो केही पनि भएको थिएन । खोइ के भयो अहिलेसम्म बुझ्न सकेका छैनौं,’ आमा उतर कुमारी रानाभाटले भन्नुभयो ,‘ २५ वर्ष बित्यो, केही पत्ता लागेको छैन । आशा छ एक दिन छोरी पक्कै फर्किनेछिन् ।’
यस्तै देवचु्ली कै कृष्ण प्रसाद श्रेष्ठ वेपत्ता हुनुभएको पनि २५ वर्ष भयो । घरको साईलो छोराको रुपमा जन्मिनु भएका कृष्ण २२ वर्षको उमेर हुँदा घरबाट नै सम्पर्कविहिन हुनुभयो । ८० वर्षिया इन्द्रमाया देवी श्रेष्ठ उहाँको आमा अझैपनि छोरा घर आउला र आमा भनि बोलाउछ कि भन्ने आशामा रहेको बताउनु हुन्छ । उहाँले भन्नुभयो “ लास नदेख्दा सम्म सास छ की भन्ने हुँदो रहेछ ।” आँखाभरी आसु लिएर भक्कानो छाड्दै भन्नुभयो “ छोरासँगै पढेको गाउँको उसको साथी कहिले काँही आउँदा मन थाम्न सक्दिन् । ” मेरै छोरा आएर बोलाएको हो की भन्दै बाहिर आउने गर्छु । उहाँहरु मात्र होइन , सम्पर्कविहीन भएका परिवारहरु आउछन् भन्ने सवैको आशा मरेको छैन । कलिलो उमेरमा विवाहमा बाँधिनु भएका पार्वती सिग्देल पनि आफ्नो श्रीमान वेपत्ता भएपछि आउने आशामा बसेको ३० वर्ष पुग्यो । न त श्रीमान घर आउनु भो, नत उहाँको बारेमा केहि पत्ता लाग्न सकेको छ । जीवन जिउन निकै कठिन भएको छ । राज्यले वेपत्ता पारिएको परिवारप्रति केहि गर्न सकेको छैन् ।
जिल्लामा द्धन्द्धपीडित १७ घरपरिवार सुचिकृत भएका छन् । अन्य सुचिकृत नभएका परिवार पनि धेरै रहेको बताइएको छ । अन्तराष्ट्रिय वेपत्ता विरुद्धको दिवस बुधवार मनाई रहदा यो दिवसमा मात्र भन्दा पनि सरकारले वेपत्ता परिवारप्रति चासो दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । जिल्लामा वेपत्ता परिवारजनको सम्झनामा दिप प्रज्वलन गरि मनाइएको छ ।
Leave A Comment