पर्यटन प्रवर्द्धनका लागि देवचुलीको फेदी किर्तिपुरमा सप्ताहव्यापी फेष्टिबल हुने - Nepal Frontline
Latest
img

पर्यटन प्रवर्द्धनका लागि देवचुलीको फेदी किर्तिपुरमा सप्ताहव्यापी फेष्टिबल हुने

खगेन्द्र पराजुली- देवचुली जेसीजले जेसीज सप्ताह गर्ने भएको छ । पर्यटकीय र धार्मिक केन्द्र देवचुली डाँडाको प्रचार-प्रसार र प्रवर्द्धन गर्ने उदेश्यका साथ आधार शिविर किर्तिपुरमा जेसीज सप्ताह अन्तर्गतका गतिविधि हुने देवचुली जेसीजले जनाएको हो ।

देवचुली नगरपालिकाको कार्यालय प्रमुख संरक्षकका रुपमा र देवचुली नगरपालिकाको वडा नं. ६ वडा कार्यालय, देवचुली युवा क्लब, तिनकल्या आमा समूहको आतिथ्यतामा देवचुली जेसीजको आयोजनामा कार्तिक १५ गतेदेखी २१ गतेसम्म विभिन्न गतिविधिका साथ जेसीज सप्ताह गरिने देवचुली जेसीजका अध्यक्ष गणेश सापकोटाले जानकारी दिए ।

देवचुली डाँडाको महत्वलाई राष्ट्रिय- अन्तर्राष्ट्रिय स्तरमा प्रचार-प्रसार गरी धार्मिक र साहसिक पदयात्रा पर्यटनको प्रवर्द्धनका लागि सप्ताहव्यापी कार्यक्रम देवचुली डाँडाको फेदी अर्थात् किर्तिपुरमा पहिलो पटक गर्न लागिएको सापकोटाको भनाइ छ ।

ऐतिहासिक पर्यटकीय स्थल देवचुलीको किर्तिपुरमा पहिलो पटक गर्न लागिएको जेसीज सप्ताह अन्तर्गत वडा स्तरीय खुल्ला भलिवल प्रतियोगिता, नवलपुरमा पर्यटनको सम्भावना विषयक वक्तृत्वकला प्रतियोगिता, व्यापारीक तथा व्यवसायिक स्टलहरू, जिल्लाको कृषि उपज प्रदर्शनी एवं व्यापार,स्थानीय कला-संस्कृति, सांस्कृतिक झाँकी र नाच प्रस्तुति, पालिका स्तरीय युवा नेतृत्व र बहस कार्यक्रम, स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति प्रदर्शन, टिकटक प्रतियोगिता, कवि गोष्ठी एवम् रचना बाचनसँगै दैनिक देवचुली डाँडाको पद‌यात्रा सप्ताहव्यापी कार्यक्रममा मुख्य आकर्षण रहने देवचुली जेसिजका महासचिव ढुण्डीराज केसी बताउँछन् ।

कार्यक्रमलाई अझ प्रभावकारी र रचनात्मक बनाउन देवचुली पर्यटन दौड अन्तर्गत दलदलेबाट नगरपालिका कार्यालयसम्म वडा अध्यक्षहरूको दौड, नगरपालिकादेखि किर्तिपुरसम्म मार्चपास, नवलपुरको पर्यटन साथमा देवचुली विषयक विद्यालय स्तरीय पब्लिक स्पीकर प्रतियोगिता एवं वक्तृत्वकला प्रतियोगिता समेत समावेश गरिएको देवचुली जेसीज‌का पूर्व अध्यक्ष एवं कार्यक्रम संयोजक बसन्त पोखरेलले थप जानकारी दिए ।

तीन तले जिल्ला अर्थात पहाड, मधेस र तराईको रूपमा रहेको नवलपुरका पर्यटकीय क्षेत्र मध्ये देवचुली डाँडा पर्यटकीय पद‌यात्राका लागि परिचित छ । पदयात्राका लागि उपयुुक्त गन्तव्यको रूपमा मानिएको देवचुली पहाडको फेदीमा हुने समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यता रहने आयोजक देवचुली जेसिजले जनाएको छ ।

Related Post

Leave A Comment