मीना कंडेल
कावासोती- कक्षा १२ उत्तीर्ण गरेपछि अधिकांश महिला लाखौँ खर्च गरेर जापान, युरोप र अमेरिका लगायत देश जान थालेपछि नवलपुरमा लोकसेवा आयोगका तयारी कक्षा सुरु गरिएको छ । सामाजिक विकास कार्यालय नवलपुरले लोकसेवाका लागि निःशुल्क तयारी कक्षा सुरु गरेको हो ।
बढ्दो शैक्षिक बेरोजगार न्यूनीकरण गर्न र युवा शक्तिलाई स्वदेशमै राख्ने उद्देश्यले तयारी कक्षा सुरु गरिएको कार्यालयले जनाएको छ । महिलालाई निजामती सेवाप्रति आकर्षित गर्न साथै उच्च शिक्षा र रोजगारीका लागि विदेशिनेक्रम बढेपछि जिल्लाको शैक्षिक संस्था, सार्वजनिक सेवा र निजी क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव नहोस् भन्ने उद्देश्यले २० दिनका लागि तयारी कक्षा सञ्चालन गरिएको कार्यालयका प्रमुख कृष्ण पौडेलले बताउनुभयो ।
हुप्सेकोट १ बेलुवाका इन्द्रावती पाण्डे स्नातक तहमा अध्ययन गरिरहनु भएको छ । आफ्ना साथी विदेश पलायन हुने योजना बनाई रहेको भए पनि आफू भने लोकसेवा तयारी कक्षा लिएर सरकारी जागिर खाने लक्ष्य लिएको बताउनु हुन्छ । गाउँमा अधिकांशको रुचि विदेश जाने भएकाले पनि आफू सरकारी जागिर खाएर स्वदेशमा नै कार्य गर्ने बताउनुभयो ।
त्यस्तैगरि कावासोती नगरपालिका ५ का रितु गौतमले कक्षा १२ उत्तीर्ण पछि व्यापार सुरु गरेको बताउनुभयो । व्यापारबाट सोचेजस्तो नभएपछि लोकसेवाको तयारी गरेर सरकारी जागिर खाएर छोड्ने अठोट राखेर अध्ययन गर्न आएको बताउनुभयो । महिलाहरूका लागि सञ्चालन भएको लोकसेवा आयोगका तयारी कक्षा बिस दिन मात्र भएकाले यो समयावधिमा धेरै सिक्न नपाउने भएकाले अझ समय बढाउँदा राम्रो हुने मध्यविन्दु ४ का सुस्मिता कुँवरले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले लोकसेवाप्रति आम नागरिकको आकर्षण रहेपनि सबैले पास गर्न सक्दैनन् भन्ने भ्रम रहेको बताउनुभयो । आफ्नो क्षमताको विकास हुने र प्रतिस्पर्धामा उत्रन पर्ने भएकाले अलि बढी अध्ययन गर्नुपर्ने बताउनु भयो । लोकसेवा जो कोहिले पास गर्न सक्दैन भन्ने भ्रमलाई चिरेर अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।
पढेका युवा बेरोजगार हुँदा पढेर मात्रै के गर्ने भन्ने बुझाई युवामा आउन थालेको भन्दै सरकारी सेवामा प्रवेशका लागि तयारी कक्षा सहयोगी बन्ने लुम्बिनी आदर्श डिग्री कलेजका प्रिन्सिपल बाबुराम रानाले बताउनुभयो । प्राविधिकतर्फको प्रशासन सहायक (चौथो) तहको परीक्षाका लागि तयारी कक्षा सञ्चालन गरिएको कावासोती नगरपालिका प्रशासकीय अधिकृत लीलाराज पौडेलको भनाइ छ । कक्षामा विद्यार्थीलाई कसरी तयारी गर्ने, कसरी परीक्षा दिने, कुन कुन विषय वस्तु पढ्ने जस्ता विषयमा समेत प्रशिक्षण दिइने पौडेलले बताउनुभयो ।
जिल्लाका आठ वटै स्थानीय तहका करिब ४० जना महिला सहभागी भएका छन् । क्याम्पस र उच्च माध्यमिक तहमा अध्ययन गरिरहेका महिला तयारी कक्षामा सहभागी भएका छन् । कावासोतीमा तीन सिफ्ट गरी प्रत्येक दिन चार घण्टाका दरले तयारी कक्षा सञ्चालन गरिएको प्रमुख पौडेलले बताउनुभयो।
साभार गोरखापत्र अनलाईन
Leave A Comment